काठमाडौँ — सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ। मंगलबार कैलालीको चिसापानीमा आयोजना गरिएको कार्यक्रममा जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी लम्कीमा एकआपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से.१ झ ३३० नम्बरको गाडी (जसमा मन्त्री पाल सवार थिए) र बा.२ झ १४१९ नम्बरको गाडी (जसमा मन्त्री सार्की थिए) एकआपसमा ठोक्किँदा दुबै गाडीमा क्षति पुगेको छ।
प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार मानवीय क्षति भने भएको छैन। ठक्करबाट मन्त्री सार्की सवार गाडीको पछाडिको भाग र मन्त्री पाल सवार गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको छ।
हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।