काठमाण्डौ । भोटेकोशी नदीमा फेरी बाढी आएको छ । भोटेकोशीमा बाढी आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार विहान २ बजेबाट नै सूचना दिएर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी खोला आसपासका क्षेत्रमा जोखिम बढेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ ल्हेन्दे खोलामा चीनतर्फबाट ठूलो बाढी आएकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोसी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजगता अपनाउन सुझाव दिएको छ।

प्राधिकरणका अनुसार आज बिहान अन्दाजी २ बजे रसुवाको गोसाइँकुण्ड-२ ल्हेन्दे खोलामा मित्रराष्ट्र चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको हो। बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।यस अघि असर २४ गते आएको बाढीले मितेरी पुल बगाएको थियो भने ठुलो मानवीय भौतिक क्षति भएको थियो ।