काठमाडौं— काठमाडौं महानगरपालिकाले बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहने भएकाले उपभोक्तालाई उमालेको पानी मात्र पिउन आग्रह गरेको छ। 

कामपाका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार बर्खाको समयमा विभिन्न स्थानबाट पानी भित्रिने भएकाले मापदण्डविपरीतको पानी बिक्री हुने सम्भावना अधिक हुन्छ। यसै कारणले महानगरपालिकाले उपभोक्ताहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो। उनले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन भइरहेको जानकारी दिए।

गत असार महिनामा मात्रै कामपाले मापदण्ड नपुगेका १५९ वटा पानी जार नष्ट गरेको थियो। सहरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न नाकामा टोली परिचालन गरी पानी आपूर्ति गर्ने सवारी साधन र जारहरूको अनुगमन भइरहेकाले उपभोक्तालाई पनि सजग रहन भनिएको छ।

कामपाले कुच्चिएका, फुटेका वा भित्रको पानी नदेखिने अपारदर्शी जारको प्रयोग नगर्नसमेत आग्रह गरेको छ। त्यस्तै, पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतको पानी बिक्री नगर्न, जारमा स्पष्ट विवरण सहितको लेबल राख्न तथा गाडीमा बिलबीजक लिएर हिँड्न निर्देशन दिइएको छ।

हैजा नियन्त्रणका लागि कामपाले समुदाय तहमा पुगेर पिउने पानीको नमूना परीक्षण गर्ने तयारी गरेको छ। साथै, प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम पनि सुरु गर्न लागिएको कामपाका महामारी रोग नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए। उनका अनुसार यस वर्ष मनसुन छिट्टै सुरु भएको र वर्षा नियमित भएकाले हैजाको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।

यसअघि बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्र हैजाबाट प्रभावित क्षेत्रका रूपमा चिनिएका थिए। कामपाले त्यसअनुसार नै समयमै नियन्त्रणात्मक कदम चाल्न थालिसकेको जनाएको छ।