डडेल्धुरा— डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकी २७ वर्षीया भुवनी पाण्डेय (भट्ट) को सुत्केरी पछिको जटिलताका कारण निधन भएको छ।

साउन १३ गते साँझ सुत्केरी ब्यथा लागेपछि उनलाई साँदनी स्वास्थ्य चौकी ल्याइएको थियो। उनले साउन १४ गते विहान ७ः१८ बजे तेस्रो सन्तानका रूपमा एक छोरालाई जन्म दिएकी थिइन्। सुत्केरीपछि समयमै सालनाल नआएको र अत्यधिक रक्तश्राव भएपछि उनलाई जोगबुढा अस्पताल रिफर गरिएको थियो।

जोगबुढा अस्पतालमा पनि अवस्था जटिल भएपछि थप उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो। आइसीयूमा राखेर उपचार भइरहेको अवस्थामा आज विहान करिब ११ बजे उनको मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष कर्ण बहादुर धामीले जानकारी दिए।

धामीका अनुसार भुवनीको नवजात शिशुको अवस्था सामान्य रहेको छ।