काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गरेका छन्।

‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको जितले देशकै गौरव बढाएको बताए।


सो अवसरमा राष्ट्रपति पौडेलले खेलाडीहरूको भविष्य खेलकुद क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्।’


खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै राष्ट्रपतिले ढाँटको खेल कौशल, सामर्थ्य र खेलप्रतिको समर्पणको उच्च प्रशंसा गरे।

राष्ट्रपति पौडेलले ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा खेल क्षेत्रको विकासमा सरकार र सम्बन्धित निकायहरू अझ प्रभावकारी ढंगले क्रियाशील हुने विश्वास व्यक्त गरे।