काठमाडौं— नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ ।

नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताइन् । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उनको भनाइ छ ।

प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उनले बताइन् ।

नेपालमा आजभन्दा १५ वर्ष अघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको र सन् २०१६ मा त झन् बढेर  ६६ प्रतिशत पुगेको जनाइएको छ । सन् २०१९ मा आइपुग्दा कुल मृत्युको ७१ दशमलव एक प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ

स्वास्थ्य पत्रकार मञ्च नेपालका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सरकार जतिकै भूमिका पत्रकारको हुने भएकाले नसर्ने रोगबारेमा समाचार सम्प्रेषण गर्न आग्रह गरे ।