चितवन — चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) संक्रमण देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले पछिल्लो तीन महिनाको परीक्षणबाट यो रोग पुष्टि गरेको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहित अन्य जिल्लाबाट परीक्षणका लागि ल्याइएका नमूनाहरूमा यो भाइरसको उपस्थिति फेला परेको हो। एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा ९२ मध्ये ३१ नमूनामा — अर्थात् ३३ प्रतिशतमा — भाइरस पोजिटिभ देखिएको उनले जानकारी दिए।
उनका अनुसार यो भाइरसले कुखुराको रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ, जसका कारण अन्य रोगले सजिलै आक्रमण गर्ने गर्छ। “सिधा मृत्यु नदेखिए पनि कुखुराको वृद्धि, उत्पादन र आर्थिक पक्षमा नकारात्मक प्रभाव पार्छ,” उनले भने।
चिकेन एनेमिया भाइरसले कुखुरामा रगतअल्पता, तौल नबढ्ने र अण्डा उत्पादनमा कमी ल्याउने लक्षण देखिन्छ। यद्यपि कुखुराले सामान्य रूपमा खाएको वा हिँडेको देखिए पनि संक्रमणको असर दीर्घकालीन हुन्छ। नेपालमा यो रोग पहिलोपटक दुई वर्षअघि काठमाडौंमा पत्ता लागेको थियो।
रोगबाट जोगाउन ब्रोइलर र लेयर दुवैका माउ कुखुरालाई खोप दिनुपर्ने डा. श्रेष्ठले बताए।
चितवनसहित १६ जिल्लाबाट ल्याइएका नमूनाहरू प्रयोगशालामा परीक्षण हुँदै आएको छ। गत आर्थिक वर्षमा प्रयोगशालाले २,५०० किसानका ७,००० कुखुराको परीक्षण गरेको थियो।
अन्य रोग परीक्षणको नतिजा यसप्रकार छ:
लो प्याथोजेनिक एभिएन इन्फ्लुएन्जा (H9): ४८,रानीखेत: १३,गम्बारो रोग: १२२,आईबी (ब्रोंकाइटिस): २
यसै अवधिमा १,१२० कुखुराको कलेजो परीक्षण गर्दा:
ई-कोलाई: ७८५,साल्मोनेला: ११२
डा. श्रेष्ठका अनुसार जैविक सुरक्षाको कमीका कारण यस्ता सङ्क्रमण देखा परेका हुन्। कुखुराका फार्महरूमा दाना, पानी, औषधि, भुस वा अण्डा ल्याउन–लानु अघि जैविक सुरक्षाका उपाय कडाइका साथ अपनाउनुपर्ने उनले सुझाए।