जनकपुर— मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो ।

मुख्यमन्त्री सतिश कुमार सिंहलाई महोतरीस्थित विभिन्न संघ सस्थाका प्रतिनिधी र सरोकारवाला हरुले प्रादेशिक अस्पताल जलेश्वरमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्योहोरा दर्शाउँदै मंगलवार ज्ञापन पत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानवीन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

स्पष्टीकरण सोधिएकाहरुमाथी सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको,  आचारसंहिता पालना नगरेको तथा कार्य सम्पादनमा लापरबाही गरेको आरोप लागेको छ । पत्रमा भनिएको छ, “३ दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउनेछ ।”

प्रदेश निजामति सेवा ऐनको दफा ८६ को उपदफा १ को खण्ड घ अनुसार कर्मचारीले आचरण सम्बन्धी कुरा पालना नगरेमा वा उल्लघन गरेमा र खण्ड च अनुसार सेवा प्रवाहमा जानाजान लापरवाही वा ढिलासुस्तीका कारण सेवाग्राही लाई हानी नोक्सानी पुग्न गएको व्योहोरा प्रारम्भिक सोधपुछ र स्थलगत अनुगमनवाट देखिएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।