काठमाडौं— चितवनको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् ।

 गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरुले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् । रु चार करोड छ लाख ९५ हजार १० बराबरको सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।  

एकाइका प्रमुख रामहरि ढकालका अनुसार लक्षित वर्गमा चेपाङ्, बोटे, मुसहर, माझी, असाहाय र वेवारिसेहरु पर्ने गर्दछन् । उनीहरुले सो वर्षमा तीन हजार ४९ जनाले सेवा लिएको उनले जानकारी दिए । उनीहरुले रु तीन करोड ३३ लाख ७६ हजार ३५८ बराबरको सेवा लिएको ढकालले बताए।

 त्यसैगरी अस्पतालको गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार सेवाबाट दुई हजार २३४ जना लाभान्वित भएको उनले बताए। आकस्मिक सेवामा गरिएको उपचारमा रु ७३ लाख ८१ हजार ६५२ खर्च भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा। कृष्णप्रसाद पौडेलले यस एकाइबाट मन्त्रालयले विनियोजित गरेको बजेटभन्दा दोब्बर खर्च गरी लक्षित वर्गलाई सहयोग गरिएको बताए। सामाजिक सेवा एकाइबाहेक पनि धेरै बिरामीको निःशुल्क उपचार गरिएको जनाउँदै डा. पौडेलले निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा आउने गरेको बताउनुभयो ।

 लक्षित समूहसँगै अन्य बिरामीको समस्या र अवस्थाअनुसार निःशुल्क वा आंशिक छुटमा सेवा दिने गरिएको उनले जानकारी दिए। देशका विभिन्न जिल्लाबाट बिरामी आउने भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् ।