वीरगञ्ज— पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजाको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि स्थानीय प्रशासनले विशेष सतर्कता अपनाएको छ । संक्रमण बढ्दै गएपछि महानगरपालिकाले दुई दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखालाका बिरामी फेला परेपछि परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार शनिबार परीक्षण गरिएका ८ जना शंकास्पद बिरामीमध्ये ५ जनामा हैजाको जीवाणु भिब्रियो कोलरी पुष्टि भएको छ ।
शुक्रबार ३ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ७ जनामा संक्रमण देखिएको छ । यससँगै हालसम्म १० जनामा हैजाको पुष्टिकरण भएको वीरगञ्ज महानगरपालिका अन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका प्रमुख राजु साहका अनुसार झाडापखालाका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्म दुई जनाको मृत्यु भएको छ, जसमा हैजाका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । तर मृत्युको ठोस कारण भने परीक्षणपछि मात्र पुष्टि हुने जनाइएको छ ।
संक्रमण फैलिन नदिन र थप जोखिम न्यूनीकरण गर्न महानगरपालिकाले विशेष तयारी थालेको छ । महानगर प्रमुख राजेशमान सिंह स्वयं अस्पताल पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिएको जनाइएको छ ।
यसै सन्दर्भमा, हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले सूचना जारी गर्दै भदौ ८ र ९ गतेका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक प्रशासन महाशाखाद्वारा जारी सूचनामा संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिन, उमालिएको वा शुद्ध पानी मात्र पिउन, सुरक्षित खाना सेवन गर्नेजस्ता स्वास्थ्य सावधानीहरू अपनाउन आग्रह गरिएको छ ।