मुगु— मुगुको सोरु गाउँपालिका–८ रुमाकी ३४ वर्षीया सुनिता बुढाको सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो ३ बजे उनको निधन भएको हो।

सुनिता बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी थिइन्। उनले छोरालाई जन्म दिएकी थिइन् । सालनाल नझरेपछि उनलाई घरदेखि झण्डै एक घण्टा टाढा रहेको सीप प्रसूति केन्द्रमा लगिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि राति १० बजे उनलाई जिल्ला अस्पताल गमगढी पुर्‍याइएको थियो।

उपचारमा संलग्न डाक्टर नहकुल शाहीका अनुसार अस्पतालमा पुग्दासम्म सुनिताको शरीरमा अत्यधिक रक्तश्रावका कारण रगतको मात्रा निकै कम भइसकेको थियो। तत्काल रगत चढाउनु आवश्यक भए पनि जिल्ला अस्पतालमा बल्ड बैंकको सुविधा नरहेकोले समयमै रगत उपलब्ध गराउन कठिनाइ भयो।

पछि सदरमुकाम गमगढीका युवाहरूको सक्रियतामा रगत जुटाइएर सुनितालाई चढाइयो। रगत चढाएपछि उनलाई होस आएको थियो। तर थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेका बेला उनको निधन भएको थियो ।