एजेन्सी— सेप्टेम्बर महिना विश्वभरका धेरै भागका बालबालिकाका लागि विद्यालय वर्षको शुरुवात हो। तर युद्धग्रस्त गाजामा बसोवास गर्ने प्यालेस्टिनी विद्यार्थीका लागि यस सेप्टेम्बरमा विद्यालय फर्कने सम्भावना गत वर्ष जस्तै टाढाको आशा बनेको छ।

मध्य गाजापट्टी शहर देइर अल–बलाहमा रहेको विस्थापन शिविरको प्रवेशद्वारमा १२ वर्षीया मारमा चुपचाप बसिरहेकी थिइन्। उनको छेउमा पुरानो धुलोले ढाकिएको झोला राखिएको थियो। आफूहरूको जीवन पहिलाको जस्तै होस् भन्ने चाहेको उनी बताउँछिन्। 

संयुक्त राष्ट्र संघद्वारा जारी तथ्याङ्कअनुसार युद्धले पूर्वाधारलाई ध्वस्त पारेको छ। विद्यालयहरू विस्थापित परिवारहरूको लागि आश्रयमा परिणत गरिएको छ। गाजामा हाल ६ लाख ६० हजार भन्दा बढी विद्यार्थी कक्षाकोठा र शैक्षिक सामग्रीहरूमा पहुँचबाट वञ्चित छन्।

अगस्टको अन्त्यमा भनिएको छ कि अक्टोबर ७, २०२३ मा युद्ध शुरु भएपछि गाजापट्टी र पश्चिम किनारमा इजरायली आक्रमण शुरु भएदेखि १८ हजार ४ सय ८९ विद्यार्थीहरू मारिएका छन्। २८ हजार ८ सय ५४ घाइते भएका छन्।