नेपालगन्ज— अबदेखि भेरी अस्पताल, नेपालगन्जमा मस्तिष्कघात भएका बिरामीहरूले महँगो ुअल्टेप्लेजु इन्जेक्सन निःशुल्क पाउने भएका छन्। यो इन्जेक्सन समयमै दिन सके बिरामीलाई प्यारालाइसिस हुनबाट बचाउन सकिने र उनीहरू धेरै हदसम्म सामान्य जीवनमा फर्किन सक्ने अस्पतालका प्रमुख फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए ।

डा. पाण्डेले भने, “मस्तिष्कघातको संकेत देखिएपछि साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके यो इन्जेक्सन अत्यन्त प्रभावकारी हुन्छ।” उनले थपे, “समयमै उपचार हुन सके बिरामीको ज्यान मात्र हैन, जीवनशैली पनि जोगिन्छ।”

८० हजार रुपैयाँ पर्ने यो औषधी सबैका लागि पहुँचमा नपुग्ने भएकाले भेरी अस्पतालले यसलाई निःशुल्क दिने व्यवस्था गरेको हो। सुरुमा २० भायल इन्जेक्सन उपलब्ध भइसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए।

उनका अनुसार, पहिले काठमाडौं र भरतपुर जस्ता केही सरकारी अस्पतालमा मात्र यो सुविधा उपलब्ध थियो। अब डा. सुवेदी, डा. पाण्डे लगायतको पहलमा नेपालगन्जमा पनि यो सेवा सुरु भएको हो।

यो सेवा सुरु भएपछि बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख लगायतका नजिकका जिल्लाका बिरामीलाई उपचारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। गरिब तथा विपन्न वर्गका बिरामीका लागि यो कार्यक्रम विशेष महत्वपूर्ण हुने विश्वास गरिएको छ।

स्वास्थ्य मन्त्रालयले मस्तिष्कघातको उपचारका लागि नयाँ कार्यविधि ल्याएको र बिरामीलाई छिटो अस्पताल पुर्‍याइ गुणस्तरीय उपचार दिने र अत्यावश्यक औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसबाहेक, मस्तिष्कघातका जोखिम, लक्षण र प्राथमिक उपचारबारे परिवार तथा समुदायमा सचेतना फैलाउन पनि चिकित्सकहरूले जोड दिएका छन्।