बाजुरा— बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो ।

मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो ।

२२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । 

उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमसंगै मार्तडीमा बजारको फोहर संकलन, अस्पताल बाजुरामा उपचाररत रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाइएको बताएका छन् । 

साथै कार्यक्रममा उपस्थिति सम्पुर्ण निजामती कर्मचारीलगायत पत्रकारहरुको स्वास्थ्य परीक्षण समेत गरेर दिवस मनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले बताए।

अस्पताल बाजुरामा उपचाररत रहेका करिब २७ जना बिरामीहरुलाई दिवसको अवसरमा फलफूल वितरण समेत गरिएको उनको भनाइ छ । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले निजामती सेवाको मूल्य–मान्यता, नैतिकता, सदाचारिता, र निष्ठाजस्ता गुणको पालना गरी नागरिकको सेवामा प्रतिबद्धता हुन आग्रह गरेका हुन्।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाईदै आएको छ ।

निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा दिवस मनाईने गरिएको छ ।