काठमाडौं – जेनजी आन्दोलन हिंसात्मक बनेपछि अमेरिकासहित धेरै देशले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न अपिल गरेका छन् ।
बेलायत, भारत, अष्ट्रेलिया, क्यानडा र आयरल्यान्डसहित दर्जनौं देशले आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेका हुन्। ती देशहरूले नेपालको भ्रमण तत्कालका लागि स्थगित गर्न र नेपालमा रहेका आफ्ना नागरिकलाई ‘सेल्टर इन प्लेस’ अर्थात् हाल बसिरहेकै स्थानमा सुरक्षित रहन निर्देशन दिएका छन्।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरू भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ३० भन्दा प्रदर्शनकारी र तीन प्रहरीको ज्यान गएको छ। सयौं मानिस अझै अस्पतालमा उपचाररत छन्। यही असहज परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न देशका दूतावासहरूले आफ्ना नागरिकको सुरक्षाका लागि यस्तो कदम चालेका हुन्।
भारतले नेपालको स्थिति स्थिर नभएसम्म यात्रा नगर्न आफ्ना नागरिकलाई सल्लाह दिएको छ। नेपालमा रहेका भारतीयहरूलाई हाल बसिरहेकै ठाउँमा सुरक्षित बस्न, सडकमा ननिस्कन र पूर्ण सावधानी अपनाउन आग्रह गरिएको छ। भारतले सीमानाका बन्द गरेको छ ।
अमेरिकाले बढ्दो राजनीतिक अशान्ति र हिंसात्मक प्रदर्शनका कारण अर्को सूचना नभएसम्म सबै अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा रहन कडा निर्देशन दिएको छ।
बेलायतले सेप्टेम्बर ८ देखि काठमाडौं र देशका अन्य भागमा भएका हिंसात्मक प्रदर्शन र हताहतीको घटनालाई उल्लेख गर्दै आफ्ना नागरिकलाई प्रदर्शनबाट टाढा रहन, स्थानीय सञ्चारमाध्यमबाट जानकारी लिन र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेको छ।
अष्ट्रेलिया र क्यानडाले नेपालमा गैरआवश्यक यात्रा नगर्न सल्लाह दिएका छन्। नागरिक अशान्ति र कमजोर सुरक्षा अवस्थाका कारण स्थिति बिना चेतावनी बिग्रन सक्ने भन्दै उनीहरूले काठमाडौं उपत्यका र अन्य प्रमुख शहरहरूमा लगाइएको कर्फ्यूको पालना गर्न भनेका छन्।
विभिन्न देशका परामर्शहरूमा नेपालको अवस्था हाल निकै अस्थिर रहेको उल्लेख गरेको छ। काठमाडौं, पोखरा लगायतका प्रमुख शहरहरूमा कर्फ्यू लगाइएको छ र जुनसुकै बेला थप प्रतिबन्धहरू घोषणा हुन सक्ने अवस्था रहेको उल्लेख गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आए पनि उडानहरू पूर्ण रूपमा सामान्य हुन समय लाग्ने देखिएको भन्दै एयरलाइन्ससँग उडान निश्चित गरेर मात्र विमानस्थल जान उनीहरूले सल्लाह दिएका छन्।
विदेशी नागरिक नेपाल आउन रोक लागेमा पर्यटन क्षेत्र शून्यमै झर्ने खतरा छ । भाटभटेनी मार्ट, होटेल हिल्टनसहित सयौं व्यापारिक संरचना जलेकाले नेपालको पर्यटन क्षेत्रले खर्बौंको नोक्सानी बेहोर्ने देखिएको छ ।