काठमाडौं— नेपाली काङग्रेसका नेता डा.सशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् । 

बिहिबार एक विज्ञप्ती जारी गर्दै उनले राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राखेको बताए । 

उनले भने, ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति मेरो पूर्ण समर्थन रहेको जानकारी गराउन चाहन्छु । जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु ।’

साथै, उनले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा समेत गरेका छन् । 

सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमण जस्ता जघन्य अपराधको घोर भत्र्सना गर्दै आन्दोलन पश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यक रहेको पनि उनले बताए । 

उनले जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा दृढ विश्वास रहेको भन्दै करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गरेका छन् ।