काठमाडौं— यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ । बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ ।

हौती समूहले एक वक्तव्य जारी गर्दै २६ सेप्टेम्बर र अल–यमन पत्रिकाको कार्यालयमाथि इजरायली विमानले बम आक्रमण गरेको र भवनहरू पूर्णरूपमा ध्वस्त भएको जनाएको छ । समूहले यस आक्रमणले आफ्नो सञ्चार गतिविधि कमजोर नहुने पनि स्पष्ट पारेको छ ।

आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूले ध्वस्त कार्यालय स्थलमा पुगेर मृतक सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

२६ सेप्टेम्बरमा पत्रिकाका पत्रकार इस्साम अल–मोश्कीले भने, “इजरायली विमानहरूले चारवटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो । हाम्रो संस्था कुनै पनि सैन्य गतिविधिसँग सम्बन्धित छैन् । धेरै पत्रकारहरू आफ्नो कर्तव्यमा रहेका बेला ज्यान गुमाए । आसपासका आवासीय घरहरू पनि क्षतिग्रस्त भएका छन्, जसमा महिला र बालबालिकाको पनि मृत्यु भएको छ ।”

हौती समूहका प्रेस अधिकारी ओमर अल–बुखैतीले भने, “इजरायलले बारम्बार सञ्चारमाध्यमहरूलाई निशाना बनाउँदै आएको छ, विशेष गरी ती मिडियाहरूलाई जसले इजरायलका अत्याचारहरू उजागर गर्छन् । यी पत्रकारहरूलाई योजनाबद्धरूपमा मारिएको हो ।”

हौती नियन्त्रित स्वास्थ्य निकायका अनुसार सानामा भएको इजरायली आक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ भने १६५ जना घाइते भएका छन् । जसमा महिला र बालबालिका पनि छन् । भग्नावशेषभित्र अड्किएका मानिसहरूको उद्धार कार्य जारी रहेको छ ।

इजरायली सेनाले भने आफूहरूले हौती समूहका सैन्य शिविर, सार्वजनिक सम्पर्क केन्द्र र इन्धन भण्डारणस्थलमा प्रहार गरेको दाबी गरेको छ । हौती समूहले भने इजरायलमाथि आक्रमणहरू जारी राख्ने र गाजामा युद्ध तथा नाकाबन्दी अन्त्य गर्न दबाब दिइरहने बताएको छ ।