रामेछाप । रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा हरेक सोमबार निःशुल्क होलबडी चेकअप (पूर्ण शरीर स्वास्थ्य परीक्षण) कार्यक्रम सञ्चालन हुने गरेको छ । 

वाग्मती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा परेको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए ।

उनका अनुसार सोमबारको निःशुल्क स्वास्थ्य परीक्षणमा ल्याब सेवा, चिकित्सक परामर्श र आवश्यक औषधि वितरणसम्मका सबै सेवा निःशुल्क पाउने व्यवस्था गरिएको छ । ‘प्रत्येक सोमबार बिहान स्वास्थ्यकर्मीहरूको टोलीले सम्पूर्ण शरीरको जाँच गर्छ, कुनै रोगको लक्षण भेटिए थप उपचारका लागि सिफारिस गरिन्छ,’ उनले भने ।

सो सेवा लिने मानिसको चाप चिकित्सालयमा बढेको उनले जानकारी दिए । सो सेवा लिनको लागि रामेछाप जिल्लाका मात्र नभएर सिन्धुली, दोलखा र ओखलढुङ्गासम्मका मानिसहरु आउने गरेको कार्कीले बताए  । 

चिकित्सालयका ल्याब असिस्टेन्ट सुमन चापागाईँका अनुसार चिकित्सालयको ल्याबमा रगत, दिशा र पिसाबको माध्यमबाट पहिचान गर्न सकिने रोगहरूको परीक्षण गरिन्छ । 

‘ब्लड सुगर, युरिया, क्रियाटिनिन, बिलिरुबिन, एसजिपिटी, एएलपी, कोलेस्ट्रोल, ट्राइग्लिसराइड, एचडिएल, सिबिसी, हेमोग्लोबिन, ईएसआर र युरिन प्रोटिनलगायत १५ भन्दा बढी प्रकारका जाँच हुन्छ’ उनले भने ।

यी परीक्षणहरूले शरीरभित्रका प्रमुख अङ्गहरूको कार्यक्षमता बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने चिकित्सालयकी डाक्टर सविता भण्डारीले बताइन् । 

उनका अनुसार रगत परीक्षणबाट रक्तचाप, मधुमेह, मिर्गौला, कलेजो र मुटुका रोगहरूको प्रारम्भिक अवस्था पत्ता लगाउन सकिन्छ । साथै रगतमा चिनी, बोसो, अक्सिजन, रातो र सेतो रक्तकोषहरूको सन्तुलन तथा पित्तथैलीको अवस्था, पिसाबमा प्रोटिनको मात्रा पनि बुझ्न सकिन्छ ।

सोमबारका निःशुल्क सेवा बाहेक अन्य दिनहरूमा पनि चिकित्सालयले विभिन्न स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । 

यसअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा, बहिरङ्ग (ओपीडी) सेवा, अकुपञ्चर, पूर्वकर्म र पञ्चकर्म उपचार, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, स्तनपायी आमा कार्यक्रमलगायतका सेवा पनि उपलब्ध छन् । साथै आवश्यक औषधिहरू निःशुल्क वा सशुल्क वितरण गरिँदै आएको चिकित्सालयले जनाएको छ ।