काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले सोमबार दिउँसो सुचना जारी गदै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार, मिति २०८२/०७/१० गते रातीदेखि २०८२/०७/१२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ ।

साथै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि रहेको छ । हिमपात र वर्षाले दैनिक जीवनसँगै पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।