म्याग्दी— जिल्लामा बढ्दो हिमपातको जोखिमलाई मध्यनजर गर्दै म्याग्दी जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण बेसक्याम्प (एबीसी) भ्रमणमा अस्थायी प्रतिबन्ध लगाएको छ। प्रशासनले आज बेलुकादेखि कात्तिक १४ गते बेलुकासम्म सम्पूर्ण यात्रु र पर्यटकलाई एबीसी नजान आग्रह गरेको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कात्तिक १० देखि १२ गतेसम्म देशका विभिन्न भागमा सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। सोही कारण म्याग्दीका उच्च पहाडी क्षेत्रहरूमा जोखिम बढेको प्रशासनले जनाएको छ।
हाल जिल्लाभर वर्षा भइरहेको र अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा हल्का हिमपात सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए।
उनीका अनुसार, हिमपात हुन सक्ने सम्भावित क्षेत्रहरू अन्नपूर्ण बेसक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरि पदमार्ग र मोहरेडाँडा रहेका छन् । सतर्कता अपनाउन स्थानीय, पर्यटक, पर्यटन व्यवसायी र पदयात्रीहरूलाई आग्रह गरिएको छ।
प्रशासनले नागरिकको सुरक्षाका लागि सरोकारवाला निकाय र स्थानीय तहहरूलाई आवश्यक तयारी र सहयोगका लागि समेत निर्देशन दिएको छ।







































