विराटनगर— मोरङका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू पारिश्रमिक र सेवा–सुविधासम्बन्धी माग राख्दै आन्दोलनमा उत्रिएका छन्।

नेपाल नर्सिंग संघ मोरङले बुधबार विराटनगरस्थित कोशी अस्पतालमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। संघकी अध्यक्ष लोजिता योञ्जनका अनुसार सरकारले तोकेको पारिश्रमिक नपाएको र सेवा–सुविधामा असमानता रहँदा आफूहरू आन्दोलनमा जान बाध्य भएका हुन्।

योञ्जनले नर्सहरूको पेशागत अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन्।

मोरङमा मात्र होइन, देशभरका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू पनि समान माग राख्दै आन्दोलनरत रहेका छन्। केही अस्पतालले सरकारले तोकेको सुविधा दिन सहमति जनाएपछि त्यहाँको आन्दोलन भने स्थगित गरिएको बताइएको छ।