काठमाडौं— देशका हिमाली पर्यटन क्षेत्रहरू मनाङ र म्याग्दीमा हिमपातका कारण अलपत्र परेका ३० जना पर्यटकको उद्धार गरिएको छ । मनाङको तिलिचो ताल बेश क्याम्पमा फसेका १५ जना र म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा फसेका अन्य १५ जना पर्यटकको उद्धार सुरक्षा निकायले गरेको हो ।
मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको बेश क्याम्पमा हिमपातका कारण अलपत्र परेका २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी १५ जना पर्यटकको उद्धारका लागि कार्तिक १४ गते बिहान सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा पर्वतीय उद्धार तालिम प्राप्त फौज र मेडिकल टोली मनाङस्थित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट त्यसतर्फ प्रस्थान गरेको जनाएको छ । पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धारमा केही समय लाग्ने बताइएको छ । अलपत्र परेकाहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
यस्तै म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकलाई पनि कार्तिक १४ गते नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो । मुस्ताङ र म्याग्दीको सीमामा पर्ने बतासे डाँडा नजिकैबाट उद्धार गरिएका ती पर्यटकमध्ये ३ जना विदेशी र १२ जना नेपाली रहेका छन् ।
ट्राभल्स एजेन्सीमार्फत कार्तिक ११ गते उनीहरू अलपत्र परेको जानकारी प्राप्त भएपछि कार्तिक १२ गते सुरक्षा निकाय उद्धारका लागि मुस्ताङको सदरमुकाम जोमसोमबाट पैदलै प्रस्थान गरेको थियो । उद्धार सम्पन्न गरी पर्यटकहरूलाई जोमसोमतर्फ ल्याइँदै गरिएको र सबैको अवस्था सामान्य रहेको सम्बन्धित निकायले जनाएको छ ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        