बाजुरा—  बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन गरिएको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त शिविर आजबाट सुरु भएको हो ।

नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको छ ।

शिविरको आइतबार सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले व्यानर बाचन गरेर औंपचारीक रुपमा उद्घाटन गरिन् । गरिव,अपाङ्ग,असहाय, शारीरिक अवस्थाबाट ग्रसित भएका विरामीहरुको लागि शिविर सञ्चालन गरिएको अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।

शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञबाट सेवा प्रदान गरिने उनको भनाई छ । शिविरको पहिलो दिन आज नाम दर्ताको कार्य गरिएको छ । त्यस्तै विरामी चेकजाँच कार्तिक १७ गते विहान देखि २० गतेसम्म रहने छ, भने विरामीहरुको शल्यक्रिया सेवा १७ गतेदेखि २१ गतेसम्म रहने भएको हो ।

शिविरमा आगोले पोलेका,खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृतिजन्य समस्या,हात वा खुट्टा भाचिएका,बाङ्गिएर जोडिएका, भाचिएको ठाउँमा पाता वा किला राखिएका, गाठागुठी निकाल्नु परेका विरामीहरुलाई सहज रुपमा सेवा प्रदान गरिने भएको छ ।

४७ औं बर्षदेखि गैरनाफामुलक सेवा दिँदै आएको नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटीले बाजुराका विपन्न, असहाय, विभिन्न रोगबाट ग्रसित विरामीहरुलाई सहज रुपमा सेवा दिने नेपाल अर्थाेपेडिक अस्पतालका प्रशासकीय अधिकृत धिरज मैनालीले बताए । उपचार नपाईरहेका गरिव,असहाय,आर्थिक समस्यामा परेका नागरिकलाई उपचारमा सहज बनाउन शिविरको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

विशेषगरी दुर्गमका जिल्लामा सेवा दिँदै आईरहेको यस अस्पतालले बाजुरामा करिब ७ बर्ष अघि सेवा दिएको थियो । त्यसबेला करिब  ५५ जना बढीको अप्रेशन गरिएकोमा ११ सय बढीलाई ओपीडी सेवा प्रदान गरिएको थियो । बाजुराका बिपन्न, असहाय, आर्थिकको अभावमा उपचार समस्यामा परेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गरि उपचारमा सहज बनाईने अपेक्षा नेपाल अर्थाेपेडिक अस्पतालले लिएको छ । शिविरमा करिब १६ जनाको टोली रहने छ ।