पर्वत। कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ ।

प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो ।

पुलको लागत रु १६ करोड ९५ लाख २५ हजार छ । पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ । माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ ।

निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त रकममा पुल बनाउने सम्झौता गरेको हो । सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । पुल एक सय मिटर लामो र ११ मिटर चौडा हुने छ ।