काठमाण्डौ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३६ उपसचिवसहित कुल ७३ जना कर्मचारीको सरुवा गरेको छ। बुधबार र बिहीबारका निर्णयअनुसार शाखा अधिकृत र नायव सुब्बा तहका कर्मचारीसमेत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

३६ उपसचिवमध्ये ९ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। तीमध्ये पदमबहादुर बुढा दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाही बर्दियाको ठाकुरबाबा नगरपालिका, शिवराज रेग्मी लमजुङको राईनास नगरपालिका, महमदशेरे मुस्तफा रौतहटको देवाहीगोनाही नगरपालिका, बिकाउकुमार यादव रौतहटकै राजदेवी नगरपालिका, सुर्यप्रसाद गौतम बाराको निजगढ नगरपालिका, ओमप्रकाश महतो धनुषाको हंशपुर नगरपालिका, डम्बरबहादुर जिसी बागलुङको गल्कोट नगरपालिका र सुनिल निरौला झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन्।

त्यस्तै, ५ जना उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाई अन्यत्र सरुवा गरिएको छ। सरुवा हुनेमा रुकुम पश्चिमको चौरजहारीका प्रेम सुवेदी, बर्दियाको ठाकुरबाबाका छविलाल नेपाली, कैलालीको भजनीका राजेन्द्रप्रसाद पन्थी, बाराको निजगढका राजेन्द्रबहादुर अर्याल र बागलुङको गल्कोटका सुर्यप्रसाद उपाध्याय रहेका छन्।