तम्घा। गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा इस्मामा बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको थियो । 


शिक्षालयमा तीन वर्षको लागि छ सेमेस्टरमा डिप्लोमा इन जियोमेटिक्स इञ्जीनियरिङ विषयको अध्ययन हुने गर्दछ । उक्त कोर्ष अध्ययनपश्चात अमिनतर्फ सर्वेक्षक पदका लागि योग्य जनशक्ति तयार हुनेछ । तर न्यून विद्यार्थी सङ्ख्याकाबीच पनि शिक्षालय सञ्चालन भइरहेको छ । शिक्षालयमा प्रत्येक सेमेस्टरका लागि ४८ जनाको कोटा निर्धारण गरिएको छ । तर हालको विद्यार्थी सङ्ख्या हेर्दा आधाभन्दा पनि कम विद्यार्थी छन् । 


विसं २०७६ मा स्थापना भए पनि ०७७ को शैक्षिक सत्रबाट शिक्षालयमा भर्ना खुलेको थियो । शिक्षालय प्रमुख प्रदीपराज पाण्डेका अनुसार भर्ना खुलेको वर्ष २०७७ मा १८, ७८ मा १३, २०७९ सालमा १५ जना विद्यार्थी भर्ना भए । २०८० मा भने दुईजना मात्रै भर्ना हुन आएपछि शिक्षालयले उक्त सेमेस्टरको पठनपाठन नै बन्द ग¥र्यो । 


यसपछि विसं २०८१ मा १२ एवं २०८२ को हालसम्म सातजना विद्यार्थी भर्ना भएका छन् । चालु शैक्षिक सत्रको भर्ना कार्यक्रम भने चलिरहेको छ । शिक्षालयमा हालसम्म छ वर्षको अवधिमा दुई सय ८८ विद्यार्थी भर्ना गर्ने कोटा निर्धारण भए पनि हाल ६५ जना अर्थात कुल क्षमताको २३ प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन् । शिक्षालयमा भर्ना भएपछि २०७७, ७८, ७९ र ८१ को शैक्षिक सत्रमा भर्ना भएकामध्ये पनि १८ जनाले बीचमै अध्ययन छोडेका छन् । 


इस्मामा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्नको लागि सिटिइभिटीले एकजना अधिकृतस्तरको प्रशिक्षक, दुई जना सहायक प्रशिक्षक, प्रशासन, लेखा, स्टोर र कार्यालय सहयोगी गरी सातजना कर्मचारीको व्यवस्था गरेको छ । गुल्मीका साथसाथै हुम्ला, जुम्ला, मुगु, बाजुरा, जाजरकोट, रुकुम पश्चिम लगायतका ठाउँबाट विद्यार्थी अध्ययनका लागि गुल्मीको शिक्षालय आएका छन् । शिक्षालय प्रमुख प्रदीपराज पौडेलले बिना पूर्वाधार सरकारले भर्ना खोल्दा विद्यार्थी सङ्ख्या कम भएको बताउनुभयो । उहाँले शिक्षालय स्थापना भएको छ वर्षसम्म पनि सामान्य पूर्वाधारसमेत नबन्नु दुखद् भएको बताउनुभयो । 


‘भर्ना हुन आएका कतिपय विद्यार्थी भौगोलिक विकटताका कारण अन्यत्रै जाने गरेका छन् ।’ उहाँले भन्नुभयो,“शिक्षालयमा पढ्ने मात्रै होइन, विद्यार्थीलाई बस्नसमेत समस्या छ ।” अहिले पनि अधिकाशं विद्यार्थी कच्ची घरमा महँगो भाडा तिरेर बस्न बाध्य भएको बताउनुभयो । इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले विद्यार्थी सङ्ख्या वृद्धि गर्नको लागि जुनसुकै ठाउँबाट आएका विद्यार्थीलाई पनि निःशुल्क अध्ययनको व्यवस्था गरेको बताउनुभयो । 


पालिकाको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा समावेश गरी प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको उहाँको भनाइ छ । साथै अहिले सङ्घीय सरकारबाट पूर्वाधार निर्माणको लागि रु तीन करोड बजेट विनियोजन भएको पनि उहाँले बताउनुभयो ।