काठमाडौं— विदेशी पर्यटकसँग ठगी गरेको आरोपमा सुर्खेतका ४० वर्षीय बिशु सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ। पोल्याण्डका १२ जना नागरिकलाई नेपाल भ्रमणका लागि मोटरसाइकल राइड तथा खाना–बस्ने लगायतका सेवासहितको प्याकेज उपलब्ध गराइदिने भन्दै ठगी गरिएको उजुरीपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सिंजालीले आफ्नो कम्पनी ‘अल्टिट्युड राइडर्स प्रालि’को नाममा फेसबुक म्यासेन्जरमार्फत कुराकानी गर्दै पर्यटकलाई आकर्षक प्याकेज प्रस्ताव गरेका थिए। सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम अग्रिम भुक्तानी लिएपछि उनी सम्पर्कविहीन भएको पीडितले दिएका उजुरीमा उल्लेख छ।

उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै आएका अधिकारीहरूले सिंजालीलाई २६ कात्तिकमा रोल्पाबाट पक्राउ गरेका छन्। उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमतिपत्र लिइसकेको साइबर ब्यूरोले जनाएको छ।