काठमाडौं— सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया लगातार दोस्रोपटक पनि रोकिएको छ। सिफारिस समितिले दुई चरणमा सूचना जारी गरे पनि एक जनाले पनि दरखास्त नदिएको विश्वविद्यालयले जनाएको छ।
समितिले पहिलोपटक कात्तिक १६ देखि ३० गतेसम्म आवेदन मागेको थियो। इच्छुक नआएपछि पुनः समय थप गर्दै मंसिर ५ गते सम्मको म्यादमा पनि कुनै निवेदन परेको छैन।
यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले खुला आह्वान गर्दै स्वास्थ्य क्षेत्रमा प्राध्यापक तहसम्म काम गरेको, विद्यावारिधी प्राप्त तथा योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई निवेदन दिन आग्रह गरेका छन्। “दुई पटकको विज्ञापनमा पनि कसैले निवेदन नदिएको हुँदा मातृभूमिको सेवामा रुचि राख्ने देशभक्त सन्तानलाई आवेदन दिन अनुरोध छ, नत्र मलाई नै सम्पर्क गर्नुहोस्,” मन्त्री पुनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
यो विश्वविद्यालय ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ अनुसार सञ्चालित हो, जसलाई गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए।






































