काठमाडौं— भारतको गोवास्थित नाइटक्लबमा आगलागी हुँदा चार नेपालीसहित २५ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने चार जना नेपाली रहेको द हिन्दुस्तान टाइम्सले जनाएको छ । 

समाचारअनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरू नेपालका भनिए पनि ठेगाना खुलेको छैन । 

आगलागीमा ६ जना घाइते भएका छन् । अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी भएको थियो । साँघुरो बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो । नाइटक्लबमा आगलागी हुँदा कम्तिमा १०० जना डान्स फ्लोरमा थिए । सप्ताहांत भएकाले नाइटक्लब खचाखच भरिएको थियो। 

गोवा प्रहरीले सिलिन्डर विस्फोटका कारण नाइटक्लबमा आगलागी भएको बताएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

धेरैजसो मृत्यु निसास्सिएर भएको थियो । घटनास्थल पुगेका मुख्यमन्त्री सावन्तले पत्रकारहरूलाई नाइटक्लबले अग्नि सुरक्षा मापदण्डहरू पालना नगरेको बताए। सावन्तले घटनाको अनुसन्धानको आदेश दिने र क्लब व्यवस्थापन र क्लब सञ्चालन गर्न अनुमति दिने अधिकारीहरूविरुद्ध कारबाही शुरू गरिने बताए ।