काठमाडौं— पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार आयोजना गरिएको एकदिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा साढे चार सयभन्दा बढीले सेवा लिएका छन्। कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजनामा तथा सेभ द हार्ट र नेपाल कार्डियोको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
शिविरमा सहभागी ४५० भन्दा बढी सेवाग्राहीमध्ये पाँच जनामा गम्भीर मुटुसम्बन्धी समस्या देखिएकाले थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं पठाइएको वडा नम्बर १२ का अध्यक्ष झलक रिमालले जानकारी दिए।
आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोगको उपचार गर्न नसकेका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको थियो। शिविरमा कुश्मा र फलेवास नगरपालिका, मोदी गाउँपालिका तथा छिमेकी जिल्ला स्याङ्जाबाट समेत बिरामी सहभागी भएका थिए।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा डा. सुमन अधिकारी, डा. सुतप यादव, बोधराज गौतमलगायत चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा मुटुरोगसम्बन्धी परामर्श, स्वास्थ्य परीक्षण, निःशुल्क ईसीजी, इको कार्डियोग्राफी तथा आवश्यक औषधि वितरण गरिएको थियो।
लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीले निःशुल्क सेवा पाउँदा ठूलो राहत महसुस गरेको स्थानीय रमेश पौडेलले बताए। उनका अनुसार शिविरबाट विशेषगरी विपन्न, दलित तथा वृद्धवृद्धा वर्ग बढी लाभान्वित भएका छन्।






































