बाजुरा— कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन् ।
उमेरले करिब पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ । सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबिच चलेको छ । अनेकौं कठिनाई र भोगाई भोग्दै पाध्यायले अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले सानो रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।
उनको मेहेनत, लगाव र कर्मशीलता कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन् । फर्म दर्ता गरेर पाध्याय तरकारी खेतीमा होमिएका छन्। पाध्यायले ०७७ बाट व्यवसायिक रुपमा तरकारी व्यवसायको थालनी गरेका हुन् । त्यो भन्दा पहिले फाट्टफुट्ट रुपमा तरकारी लगाउँदै आएका थिए । जसबाट थोरथारै कमाई समेत हुने गरेको थियो ।
०७८ मा उनले कृषि ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान र आफ्नो ५० प्रतिशत लगानी गरेर करिब एक लाख बराबरको प्लास्टिक टनेल निर्माण गरि व्यवसायीक तरकारी खेती सुरु गरेका हुन् । उनले अहिले त्यहि प्लाष्टिक टनेलबाट तरकारी खेती गरेर यतिबेला जिल्लाकै सफल किसानका रुपमा परिचित छन् ।
उनले करिव २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनकै उमेरका अधिकांश दौंतरीहरु पैसा कमाउन विदेश पलायन भएपनि पाध्याय भने तरकारी खेतीमै सक्रिय छन् ।
खेतीबाट नाम र दाम दुवै कमाउन थालेपछि उनले अहिले ज्यालादारी र कामको लागि भारत जाने योजना कहिल्यै नबनाएको उनले सुनाए । उनले भने, ‘तरकारी खेतीबाट घरखर्च चलाउन पुगेको छ । बजार लगेर बिक्री गर्न पनि भ्याइएको छ । गाउँमै कर्म गर्ने हुटहुटीले बाहिर जाने योजना कहिल्यै आएन् ।’ व्यवसायीक रुपमा तरकारी खेतीतर्फ लागेको चार पाँच बर्षभित्र राम्रो आम्दानी हुनुका साथै पेशा, व्यवसायबाट आफू निकै सन्तुष्ट रहेको पाध्यायले बताए ।
तरकारी बिक्री गरेर सामान्य रुपमा बार्षिक डेढ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ । आम्दानी भन्दा पनि आफूलाई ताजा तरकारी खान र व्यवसायिक बन्न सहज भइरहेको उनले थपे। तरकारी खेतीबाट नाम र सामान्य रुपमा दाम हुन थालेपछि आफूलाई पेशाप्रति थप हौसला थपिएको बताउँदै उनले तरकारी खेतीबाटै परिवारको खर्च, बालबच्चाको पालन पोषण भइरहेको बताए ।
आगामी दिनमा पेशा व्यवसायलाई थप बढवा दिने उनको भनाई छ।व्यक्ति कर्मशिल हुन जरुरी रहेको कुरामा पाध्यायले जोड दिए । उनले भने,‘व्यक्ति कर्मशिल र लगनशील भए हरेक चिज गाउँ सम्भव हुने रहेछ।हामी गाउँमा रोजगारीका अवसर छैनन् भन्छौँ । तर आफ्नै गाउँको माटोमा पशिना बगाए सुन समेत फलाउन सकिने रहेछ ।’ पाध्यायले टनेलमा मौसम अनुसारका तरकारी फलाउने गरेका छन् ।
टनेलभित्र टमाटर, काँक्रो, काउली, बन्दा, रायो, डल्ले खुर्सानी, गाँजरलगायत तरकारी उत्पादन गर्ने गरेका छन् । उनले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती समेत गरिरहेका छन् । तरकारी मात्रै नभई पाध्यायले फलफूल समेत उत्पादन गर्ने गरेका छन् । तरकारी खेतीका साथसाथ उनले सुन्तला, किवी, मौसमीलगायतका फलफूलको खेती गरेका छन् ।
त्यस्तै दाँते ओखर, विभिन्न बोटविरुवा वृक्षरोपण गरि व्यवसायीक पेशा थालनी गरेका छन्।तरकारी तथा फलफूल व्यवसाय नै उनको जीवनको ढकढुकी बनेको छ।
पाध्यायको फार्ममा करेला,घिरौँला,लौका,फर्सी,बोडी, सिमी भेन्टा, धनियाँ समेत उत्पादन हुने गरेका छन्। बजारमा करेला र घिरौँला प्रतिकिलो रु १२०, लौका ७०, काँक्रा ५० मा धमाधम बिक्री हुने गरेको उनले बताए ।
‘तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरि हरियाली फलेका तरकारी देख्दा मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ’, उनले भने,‘हिउँदे र बर्खेयाम अनुसारको तरकारी खेती गर्दै दिनहरु वितिरहेका छन् ।’
उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय आफ्नो पेशा व्यवसाय गाउँका अन्य व्यक्तिले सिको गरेको उनको भनाई छ।
आफ्नै गाउँको माटोमा कर्म गरेर व्यवसायिक बन्न उनले सुझाव दिएका छन्। परदेशमा अरुको दवाव सहेर काम गर्नु भन्दा स्वदेशमै बसेर आफ्नै गाउँमा कर्म गर्नु उचित रहेको उनको भनाइ छ ।






































