धनुषा— अङ्ग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषा जिल्लामा पर्यटकहरूको उल्लेख्य चहलपहल देखिएको छ। विशेषगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायत विभिन्न क्षेत्रबाट हजारौँ भारतीय पर्यटकहरू जनकपुरधाम घुम्न आएका छन्।
नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम तथा अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा पर्यटकको घुँइचो लागेको छ। धार्मिक आस्थासँगै सांस्कृतिक पर्यटनका लागि जनकपुरधाम भारतीय पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ।
पर्यटकहरूको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापार व्यवसायमा सकारात्मक प्रभाव परेको छ। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायले जनकपुरधाम क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
नयाँ वर्षको अवसरमा धनुषामा पर्यटकको आवागमन अझै बढ्ने अनुमान गरिएको छ।






































