काठमाडौं— जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए । सरकारी वकिलहरूले यो हत्या “जापानको युद्धपछिको इतिहासमै अभूतपूर्व” भएको उल्लेख गर्दै समाजमा गम्भीर असर परेको तर्कसहित आजीवन कारावासको माग गरेका थिए ।
यामागामीका कानुन व्यवसायीहरूले भने अधिकतम २० वर्ष कैद सजाय माग गरेका थिए । घटनापछि सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको थियो । नारा प्रान्तका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा “नकार्न नसकिने कमजोरी” रहेको स्वीकार गर्दै घटनाको विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए ।
जापान विश्वकै सुरक्षित मुलुकमध्ये एक मानिन्छ र यहाँ बन्दुकसम्बन्धी कानुन अत्यन्त कडा छन् । तर सन् २०२२ मा नारा शहरमा आयोजित चुनावी सभामा भाषण सुरु गरेको केही मिनेटमै आबेलाई पछाडिबाट नजिकैबाट गोली हानिएको थियो । ६७ वर्षीय आबेलाई गम्भीर अवस्थामा अस्पताल लगिए पनि उनको श्वासप्रश्वास र मुटुको धड्कन बन्द भइसकेको थियो । चिकित्सकको प्रयासका बाबजुद उनलाई मृत घोषणा गरिएको थियो ।
प्रहरीका अनुसार यामागामीले अनुसन्धानका क्रममा शान्त रूपमा बयान दिँदै आबेमाथि आक्रमण गरेको स्वीकार गरेका थिए ।
उनले पूर्व प्रधानमन्त्री आबेको कुनै एक संस्थासँग सम्बन्ध रहेको भन्ने अफवाहका कारण हत्या योजना बनाएको बताएका थिए, यद्यपि उक्त संस्थाको नाम सार्वजनिक गरिएको छैन् । अदालतको यो फैसलासँगै जापानमा राजनीतिक नेताहरूको सुरक्षा र सार्वजनिक सभाको व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ ।






































