रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेल निर्वाचन केन्द्रित छलफल र मतदाता भेटघाट अभियानमा जुटेका छन् । जिल्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेले आन्तरिक संगठनात्मक छलफल र मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई सँगसँगै अघि बढाएको छ ।
यस क्रममा एमाले गोकुलगंगा गाउँपालिका कमिटी, मन्थली नगरपालिका कमिटी, लिखु तामाकोसी गाउँपालिका कमिटी, उमाकुण्ड गाउँपालिका कमिटी तथा खाँडादेवी गाउँपालिका कमिटीको बैठक सकी निर्वाचन केन्द्रित आवश्यक योजना बनाएको नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताए ।
पार्टीले बैठक तथा भेटघाटलाई एकैसाथ अघि बढाएको छ । ढुङ्गेलसहितको टोली लिखु तामाकोसी गाउँपालिका कमिटीको बैठकमा सहभागी भई स्थानीय मतदातासँग भेटघाट गर्दै उमाकुण्ड गाउँपालिका तर्फ अघि बढेको छ ।
सो क्रममा स्थानीय मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम जारी रहेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए । जिल्लाको हिमाली गाउँ गुम्देलसम्म पुगेर मतदातासँग भेटघाट गरी त्यहाँबाट तल्लो भागमा फर्कने श्रेष्ठले बताए ।
उम्मेदवार ढुङ्गेलले आफूले झुटा आश्वासन नदिने तर सकेको काम निरन्तर गर्ने मतदातासँग प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू जहिले पनि मतदाताको साथमा रहने बताएका छन् ।
अध्यक्ष कडरियाका अनुसार पार्टीले सबै भौगोलिक क्षेत्र समेट्ने गरी घरदैलो, छलफल र संवादलाई प्राथमिकता दिँदै चुनावी अभियान सञ्चालनको योजना बनाइएको छ । नयाँ युवा तर राजनीतिमा राम्रा दखल भएका, विकासको योजना भएका उम्मेदवार भएकाले ढुङ्गेललाई मतदाताले मन पराएका एमालेको दाबी छ ।






































