काठमाडौं— राष्ट्रिय सभाका सदस्य नारायण दत्त भट्टले वर्तमान राजनीतिक नेतृत्व र लोकतान्त्रिक अभ्यासप्रति कडा टिप्पणी गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टले सरकार र राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।
उनले प्रधानमन्त्री सुशिला कार्की प्रति संकेत गर्दै नागरिक अगुवाहरूको सरकार बने–नबनेको आफूलाई स्पष्ट नभए पनि वरिपरि “घण्टी नै घण्टी फलाउने” प्रवृत्ति देखिएको टिप्पणी गरे । भट्टले आफूलाई समाजको ‘नायक’ ठान्दै अरूमाथि नैतिक प्रश्न उठाउने तर जिम्मेवारीबाट भागेर पुनः दलकै नाममा सत्तोसराप गर्ने प्रवृत्तिको आलोचना गरे ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल सबैलाई उल्लेख गर्दै उनले प्रजातन्त्रका नाममा प्रयोग गरिएका अधिकार संविधानको मातहतमै रहेको स्पष्ट पारे ।
उनले यस्ता संवैधानिक अधिकारलाई निरर्थक ठहर गर्दै “यी केही पनि होइनन” भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेकोप्रति आपत्ति जनाए । भट्टका अनुसार यस प्रकारको सोच र अभ्यास लोकतान्त्रिक प्रणालीका लागि खतरनाक छ ।






































