काठमाडौं— लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनगणनाका रूपमा लिएको बताएका छन्। उनीहरूले यस निर्वाचनलाई आफ्नो वास्तविक सङ्ख्यात्मक उपस्थिति देखाउने अवसरका रूपमा लिएका छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता तथा संविधानसभा सदस्य सुनिल बाबु पन्तले शक्ति देखाउने बेला आएको बताए। २०६४ सालको ऐतिहासिक संविधानसभामा निर्वाचित भएर संसद् पुगेका पन्तपछि, दोस्रो पटक संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि पु¥याउने अभियानमा उनी स्वयं अग्रसर देखिएका छन्।
तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको यो चुनावी अभियानमा पन्तको प्रत्यक्ष साथ, नैतिक समर्थन र सक्रिय सहयोग रहेको उनले स्पष्ट पारे।
पन्तले आग्रह र पूर्वाग्रह सबै एक ठाउँमा राखेर समावेशी समाजवादी पार्टीलाई गोप्य मतदान गर्न अपिल गरे। अहिलेसम्म जनगणना नभएको उल्लेख गर्दै उनले भने, ‘जनगणना पनि हुन्छ। हामी कति छौँ त सङ्ख्यामा भन्ने एक खालको हिसाब पनि आउँछ। शक्ति देखाउने बेला यही हो।’
उनले लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई गोप्य मतदानमार्फत भोट दिन अनुरोध गरे। समुदायसँग जोडिएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सदस्यहरू अधिकांश अझै खुल्न नसकेको उनले बताए। यसपालि आफ्नो राजनीतिक विचार र आग्रह–पूर्वाग्रह सबै एक ठाउँमा राखेर समावेशी समाजवादी पार्टीलाई भोट हाल्न उनले अपिल गरे।
पन्तले फागुन २१ को चुनावलाई गोप्य मतदानमार्फत उपस्थिति देखाउने अवसरका रूपमा लिन आग्रह गरे। कति भोट झ¥यो भन्नेमा सबैको आँखा लाग्ने उनको भनाइ छ। ‘हाम्रो उपस्थिति जनमानसमा देखाउने राम्रो साधन हो,’ उनले भने।
सबैले गोप्य मतदानमार्फत ‘हामी पनि नागरिक हौँ’ भन्ने देखाउन आवश्यक रहेको उनले बताए। पन्तले लोकतन्त्रको सौन्दर्यतामा विविधता आवश्यक रहेको बताए।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रतिनिधित्व नभए संसदमा आवाज नहुने उनले उल्लेख गरे। ठूला र साना सबै दलले प्रत्यक्ष उम्मेदवार ६ जनाका लागि मतदातालाई अपिल गरिदिन उनले अनुरोध गरे। आधिकारिक रूपमा उम्मेदवारी फिर्ता लिने समय सकिएको भए पनि इन्डोर्स गरेर मतदातालाई अपिल गर्न सकिने उनले बताए।
पार्टीकी अध्यक्ष तथा तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाले नयाँ र पुराना राजनीतिक दलका शीर्ष नेतासँग समर्थनका लागि अपिल गरिन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय दशकौँदेखि राज्य र राजनीतिबाट उपेक्षित हुँदै आएको पृष्ठभूमिमा उनले यो अपिल गरेकी हुन्।
उनले नयाँ, पुराना, ठूला र साना सबै दलका शीर्ष नेतृत्वलाई समर्थन गरिदिन आग्रह गरिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखिएको उनले जानकारी दिइन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, र भावी प्रधानमन्त्रीका रूपमा चर्चा हुने बालेन शाहदेखि गगन थापासम्मलाई अपिल गरिएको उनले बताइन्।
नेपाली कांग्रेसका सभापति गगन थापालाई आफूले पहिलादेखि नै प्रधानमन्त्रीका रूपमा चाहेको बताउँदै, सभापति भएपछि थप जिम्मेवारी लिनुपर्ने धारणा चञ्चलाले राखिन्। ‘सबै समुदाय खुसी हुनुपर्छ,’ उनले भनिन्।
पुस्ता हस्तान्तरणको बहस भइरहेका बेला अरूलाई मौका दिने कि नदिने भन्ने प्रश्न उठेको उनको भनाइ छ। ‘हामीलाई तपाईँहरूजस्ता ठूला पार्टीहरूले उम्मेदवार फिर्ता गर्ने कि, मलाई सघाएर विजयी बनाउने विकल्प आजको राजनीतिमा छ,’ उनले भनिन्।
संसदमा सधैँ महिला र पुरुषको मात्र कुरा उठिरहेको अवस्थामा पछाडि पारिएका र सीमान्तकृत समुदायका प्रतिनिधि खुलेर बोल्न सक्षम हुने उनले बताइन्।
लाखौँ समुदायका प्रतिनिधित्व गर्दै छातीमा हात राखेर बोल्न सक्ने आत्मविश्वास आफूले पाएको उनको भनाइ छ। स्वतन्त्र रूपमा बोल्ने आत्मविश्वास ठूला राजनीतिक नेताहरूबाटै सिकेको उनले बताइन्।
उनका अनुसार संसदमा यसअघि कुरा नउठेको होइन। तर सुनिल बाबु पन्तबाहेक अन्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि संसद् पुग्न नसकेको यथार्थ छ। ‘माननीयज्यूहरूलाई हामीले आफ्नो कुरा राखिदिन सधैँ आग्रह गर्दै आएका थियौँ,’उनले भनिन्।
अब आफैँ संसद् पुग्न सके अरूलाई गुहार्न नपर्ने उनको भनाइ छ। महिला, पुरुष, युवा, अल्पसङ्ख्यक र पछाडि पारिएका वर्गका समस्याहरू सदनमै उठाउने अठोट उनले व्यक्त गरिन्।
महिला, पुरुष र युवाका पीडा आफूलाई थाहा रहेको उनले बताइन्। विमानस्थलमा युवाहरू विदेश गइरहेको दृश्य देख्दा मन रुने गरेको उनले उल्लेख गरिन्।
नेपालमै युवाका लागि काम गर्न सकिने अवस्था सिर्जना गर्नु आजको आवश्यकता रहेको उनले बताइन्। यो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधि संसदमा पुगेर स्थायी इतिहास कोर्ने उनको विश्वास छ। चञ्चला मोरङ निर्वाचन क्षेत्र नम्बर ४ की प्रत्यक्ष उम्मेदवार हुन्।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का प्रत्यक्ष उम्मेदवार देवेन्द्रबहादुर खत्री ‘मधु’ले शासक वर्गले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा पिछडिएको वर्गको वर्तमान र भविष्यसँग खेलबाड गरिरहेको बताए। “हामी राज्यबाट दोहोरो विभेद खेपेर आएका सीमान्तकृत वर्ग हौँ,” उनले भने।
सत्तामा बस्नेहरूले जहिले पनि भोट र करका लागि मात्र प्रयोग गरेको आरोप उनले लगाए। यदि अहिले आफ्ना मुद्दा आफैँले ज्वलन्त आवाजका साथ नउठाए भविष्य झन् जोखिममा पर्ने चेतावनी उनले दिए। राजनीतिमा होमिएर देशलाई निकास र विकास दिने ध्येय, लक्ष्य र उद्देश्य रहेको उनको भनाइ छ।
समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ नुमा लिम्बु (चञ्चला) र देवेन्द्रबहादुर खत्री ‘मधु’सँगै विभिन्न जिल्लाबाट उम्मेदवार उठाएको छ। पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेललाई उम्मेदवार उठाइएको छ। ओखलढुङ्गाबाट ३४०६ उम्मेदवारमध्ये ‘अन्य’ पहिचानमा उम्मेदवारी दर्ता गर्ने पिंकी राई र काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट विनोद लामा (कोनिका) उम्मेदवार छन्।
समावेशी समाजवादी पार्टीले समानुपातिकतर्फ १५ जनाको नाम समेटिएको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको जनाएको छ।





































