काठमाडौं— आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मुम्बइको एमसीए प्रेसिडेन्ट-११ सँगको पहिलो अभ्यास खेलमा जित निकालेको छ।
मुम्बइमा भएको खेलमा नेपाली टोलीले एमसीए प्रेसिडेन्टमाथि ७ विकेटको जित निकालेको हो। एमसीएले दिएको १४३ रनको लक्ष्य नेपाली टोलीले १७.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। कुशल भुर्तेलले ३८ रन थपे।
त्यसअघि ब्याटिङ गरेको एमसीए-११ ले ९ विकेटको क्षतिमा १४२ रनको योगफल तयार पारेको थियो। नेपालले दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ।
विश्वकप अघि नेपाली टोलीले संयुक्त अरब एमिरेन्ट्स (यूएई) र क्यानडासँग दुई अभ्यास खेल खेल्नेछ। नेपाली टोलीले पहिलो अभ्यास खेलमा यूएईसँग ३ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो अभ्यास खेल ५ फेब्रुअरीमा क्यानडासँग हुनेछ। दुवै खेल चेन्नईमा हुनेछन्।
चेन्नईमा अभ्यास खेल खेलेपछि नेपाली टोली विश्वकपका लागि मुम्बई पुग्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ। टी२० विश्वकप माघ २४ गतेदेखि श्रीलंका र भारतमा सुरु हुँदै छ।
नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इङल्यान्डविरुद्ध खेल्ने तालिका छ। नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग तथा तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। समुह चरणको अन्तिम खेलमा फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।






































