काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका छन् । शुक्रबार काठमाडौं महानगरपालिका–७ स्थित जोरपाटी नयाँ बस्तीमा आयोजित एक कार्यक्रममा उनीहरू रास्वपामा प्रवेश गरेका हुन् ।

रास्वपाका उम्मेदवार राजु पाण्डेको उपस्थितिमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै पाण्डेले पुराना राजनीतिक अभ्यासबाट निराश भएका नागरिकहरू परिवर्तनको पक्षमा उभिएको बताए । उनले रास्वपाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवप्रवेशी नेता–कार्यकर्ताहरूले रास्वपाको विचार, नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीमा आबद्ध भएको बताएका छन् । कार्यक्रममा स्थानीय बासिन्दा तथा पार्टी समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।