काठमाडौं— वरिष्ठ पत्रकार तथा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) का कारण गम्भीर अवस्थामा रहेका सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन्।
अछाममा रहेका बेला अचानक बेहोस भई ढलेपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याई ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी तथा दुई दाजुभाइ रहेका छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष सिटौलाले सयौं नेपाली चलचित्रहरूको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान दिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा सिटौला टोलीसहित अछाम पुगेका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।




































