रामेछाप— रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा आयोजना गरिएको एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा २७० जना स्थानीयले सेवा लिएका छन् । वाग्मती प्रदेश अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र सुनापति गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित उक्त शिविरमा दुर्गम क्षेत्रका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालन भएको शिविरमा चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क परामर्श र औषधि समेत वितरण गरेका थिए ।
शिविरमा सहभागी भएकामध्ये अधिकांशमा हाडजोर्नी सम्बन्धी समस्या देखिएको चिकित्सालयका डाक्टर उत्तम गैरेले जानकारी दिए । उनका अनुसार सेवा लिन आएका बिरामीहरूमा मुख्यतया घुँडा र ढाड दुख्ने, शरीर झमझमाउने तथा पोल्ने समस्या बढी पाइएको थियो । यसका अतिरिक्त ग्यास्ट्रिक, छालाका रोग, युरिक एसिड, उच्च रक्तचाप र मधुमेहका बिरामीहरूको पनि उपस्थिति बाक्लो थियो । शिविरमा सेवा लिन आउनेहरूमा ज्येष्ठ नागरिकको सङ्ख्या सबैभन्दा धेरै रहेको पाइएको छ ।
शिविरमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयबाट प्राप्त तथा विभिन्न औषधि कम्पनीहरूले सहयोग स्वरूप उपलब्ध गराएका आयुर्वेदिक औषधिहरू निःशुल्क रूपमा वितरण गरिएको थियो । दुर्गम गाउँमै आयुर्वेदिक उपचार सेवा र औषधि प्राप्त भएपछि स्थानीय बासिन्दाहरूले राहत महसुस गरेका छन् ।





































