काठमाडौं— विभिन्न व्यक्तिको प्रलोभनमा परि कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले विज्ञप्ति जारी गरे जानकारी दिएको छ ।
दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो ।
कतिपय भने भिसाविना नै लुकेर बसिरहेका थिए । दूतावासले यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर भइरहेको जानकारी दिएको छ । कम्बोडियामा अझै पनि धेरै नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर पनि बसिरहेको सूचना दूतावासलाई प्राप्त भएको छ ।
कठिन अवस्थामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सहजीकरणको लागि तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । अलपत्र परेकाहरूले बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजीकुमार क्षेत्रीलाई सम्पर्क गर्न सक्नेछन् ।






































