मुगु । कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्ला मा पाइने विभिन्न प्रकारका जडीबुटीबाट उत्पादन गरिएको वातशामक तेल पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । स्थानीय रूपमा उत्पादन गरिएको यस तेलले शरीरका विभिन्न रोग तथा दुखाइमा राहत दिएको प्रयोगकर्ताहरूले बताएका छन् ।
छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका अन्दाजी ५५ वर्षीय धनलाल लावड लामो समयदेखि शरीरका जोर्नी, नशा तथा छालासम्बन्धी पीडाबाट ग्रसित थिए । जिल्ला अस्पताल तथा निजी मेडिकलमा लाखौं खर्च गर्दा पनि निको नभएपछि उनले आयुर्वेद स्वास्थ्य केन्द्र मुगु बाट उत्पादित वातशामक तेल प्रयोग गरेका थिए । नियमित प्रयोगपछि आफू अहिले धेरै हदसम्म निको भएको उनले बताए ।
उक्त केन्द्रमा निःशुल्क फिजियोथेरापी, एक्युपञ्चर, खकार तथा रगत परीक्षणसहित औषधी सेवा पाइने भएकाले बिरामीहरूलाई सहज भएको लावडको भनाइ छ । यस्तै, शरीरका विभिन्न भागमा दुखाइको समस्या भोगिरहेका दानबहादुर शाहीले पनि सोही तेल प्रयोगपछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताए । “पहिले हिँडडुल गर्न पनि समस्या थियो, अहिले सहज भएको छ,” उनले भने ।
पछिल्ला तीन वर्षदेखि जिल्लामा पाइने सिस्नु, रास्ना, चरिअमिलो, बेडु, तितेपाती, चुत्रो, सल्ला, भाङ्गो, धतुरो, तिल, तोरी, मेन्थल, कपुर लगायतका जडीबुटी प्रयोग गरी तेल उत्पादन हुँदै आएको छ । यस तेलले ढाड, कम्मर, हाडजोर्नी तथा आमवातजस्ता समस्यामा राहत दिने विश्वास गरिएको छ । चालु वर्षमा २ हजार ६० मिलिलिटरका बोतल उत्पादन गरिएको उक्त तेल उत्पादन मितिले दुई वर्षसम्म प्रयोग गर्न मिल्ने बताइएको छ । तेलसँगै बासा चूर्ण, रास्ना चूर्ण र पाषाणभेद चूर्णसमेत उत्पादन भइरहेको केन्द्रले जनाएको छ । निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी लक्ष्मीप्रसाद पाण्डेका अनुसार बजेट अभावका कारण अन्य औषधी उत्पादन विस्तार गर्न कठिनाइ भइरहेको छ ।
कर्णाली प्रदेश तथा मुगु जिल्लामा पाइने बहुमूल्य जडीबुटीको पहिचान गरी उद्योग सञ्चालन गर्न सके स्थानीय स्तरमै औषधी उत्पादनसँगै आम्दानी वृद्धि हुने सम्भावना रहेको सरोकारवालाहरूको भनाइ छ । राज्यका तीनै तहका सरकारले यस क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।




































