काठमाडौं— राजधानीको ऐतिहासिक असन बजार क्षेत्रको मौलिकता जोगाउन नयाँ पहल गरिएको छ। आगामी वैशाख ५ गतेदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिने निर्णय गरिएको हो।

काठमाडौं महानगरपालिका को नेतृत्वमा सरोकारवालाहरूबीच भएको छलफलपछि कार्यक्रम एक सातापछि सार्दै वैशाख ५ गतेदेखि लागू गर्ने निर्णय गरिएको हो।

कार्यवाहक प्रमुख सुनिता डंगोलले असन क्षेत्र धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिको महत्वपूर्ण केन्द्र भएकाले यसको संरक्षण आवश्यक रहेको बताइन्। उनले स्थानीयको सहभागितामा कार्यक्रमलाई दीगो रूपमा अघि बढाइने उल्लेख गरिन्।

वडाध्यक्ष योगेश खड्गीका अनुसार सवारी निषेध कार्यक्रमले असन बजारको मौलिकता जोगाउनुका साथै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसका साथै सुरक्षा, आवागमन व्यवस्थापन र पैदल यात्रीको सहजताका लागि प्रहरी तथा सम्बन्धित निकायले आवश्यक तयारी गर्ने जनाइएको छ।