काठमाडौं— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको काम छिटो टुंग्याएर १०औँ राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा उनले रंगशालाको काम सकाउन बजेट समेत विनियोजन भइसकेको बताए ।

रंगशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्त्रण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी र सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह गरे । “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,” उनले भने ।

उनले निर्माण व्यवसायीलाई कार्यतालिकाअनुसार काम अघि बढाउन र निश्चित समयसीमाभित्र पूरा गर्न निर्देशन दिए । निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उनले उल्लेख गरे ।

उनले जिम्मेवार निकायलाई आफ्नो भूमिकामा गम्भीर हुन आग्रह गरे । रंगशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार र नयाँ अवसर सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे ।

मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका निम्ति दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनले खेलाडीको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण र निरन्तर प्रतियोगिता आयोजनामा ध्यान दिनुपर्नेमा जोड दिए । कर्णालीमा खेलकुद क्षेत्रको सम्भावना प्रशस्त रहेको भन्दै त्यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालक्षित आवश्यक तयारीमा जुट्न पनि निर्देशन दिए । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्ष समयमै सुनिश्चित गर्नुपर्ने उनले बताए ।

कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेस गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।