काठमाडौं— महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कार्यरत एक कर्मचारीले आफूले समयमै सेवा निवृत्ति प्रक्रिया पूरा गरे पनि हालसम्म निवृत्तिभरण (पेन्सन) सम्बन्धी अधिकारपत्र नपाएको भन्दै गुनासो गरेका छन्।
हर्ष बहादुर भण्डारीले कार्यालयमा निवेदन दिँदै आफूले २०४० सालमा नियुक्ति लिएर लामो समय सेवा गरेको र विभिन्न कार्यालय हुँदै काम गरेको उल्लेख गरेका छन्। निवेदनअनुसार उनले २०७६ सालमै राजीनामा पेश गरेका थिए, तर सो राजीनामा स्वीकृत भए–नभएको बारे स्पष्ट जानकारी नदिइएको आरोप लगाएका छन्।
उनका अनुसार सेवा अवधिभर निरन्तर काम गर्दै आएको अवस्थामा अन्ततः बाध्यात्मक अवकाश दिइएको पत्र प्राप्त भएको भए पनि निवृत्तिभरण सम्बन्धी प्रक्रिया अझै पूरा भएको छैन। उनले आफूले २६ वर्षभन्दा बढी सेवा गरेको उल्लेख गर्दै कानुनअनुसार निवृत्तिभरण अधिकारपत्र पाउनुपर्ने माग गरेका छन्।
निवेदनमा उनले सम्बन्धित निकायलाई छिटो छरितो रूपमा आफ्नो निवृत्तिभरण अधिकारपत्र उपलब्ध गराइदिन अनुरोध गरेका छन्। साथै, आवश्यक सबै कागजात पेश गरिसकेको भन्दै ढिलाइ हुनुमा प्रशासनिक लापरबाही भएको आशंका व्यक्त गरेका छन्।
जागीर खाएको ३३ वर्ष ६ महिना १९ दिन जागिर खाएको अवधी भइसक्दा पनि कार्यालयले वेवास्ता गरेको उनको गुनासो छ । सूचना पाउने अधिकार आम जनताको हो तर कार्यालयले राजीनामा स्वीकृत भए–नभएको बारे स्पष्ट जानकारी नदिइएको उनको भनाइ छ ।
जेन्जी आन्दोलन पछि सरकार परिवर्तन भएपछि नेपालमा पछिल्लो समय निवृत्तिभरण सेवा प्रवाहलाई सहज बनाउन विभिन्न डिजिटल प्रणाली लागू गरिएको छ, जसले सेवा निवृत्त कर्मचारीलाई घरमै बसेर सेवा लिन सहज बनाउने लक्ष्य राखेको छ। तर, यस्ता व्यक्तिगत गुनासोहरू अझै समाधान हुन बाँकी रहेको देखिन्छ।







































