मुम्बई— आफ्नो जादुमयी आवाजले झण्डै आठ दशकसम्म श्रोतालाई मन्त्रमुग्ध पारेकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन भएको छ। ९२ वर्षीया भोसलेको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पारिवारिक स्रोतलाई उल्लेख गर्दै लेखेका छन्।
मुटुमा समस्या (कार्डियाक अरेस्ट) देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। उपचारका सम्पूर्ण प्रयासका बाबजुद उनको आइतबार निधन भएको समाचारमा उल्लेख छ। उनको निधनको खबरसँगै यतिबेला विश्वभरका सङ्गीतप्रेमीहरू शोकमा डुबेका छन्।
शास्त्रीय सङ्गीतका हस्ती दीनानाथ मंगेशकरकी पुत्री आशाले बाल्यकालदेखि नै सङ्गीतको शिक्षा पाएकी थिइन्। दिदी लता मंगेशकरको विशाल ख्याति र 'छाया' माझ ओझेल नपरी आफ्नै छुट्टै पहिचान बनाउनु उनको करियरको सबैभन्दा ठूलो चुनौती र सफलता दुवै रह्यो। लताको गायकीभन्दा भिन्न र आधुनिक शैलीलाई आत्मसात् गर्दै उनले सङ्गीत जगतमा आफ्नो साम्राज्य खडा गरिन्।
बहुमुखी प्रतिभाकी धनी आशाले हिन्दी मात्र नभई नेपाली लगायत दर्जनौँ भाषाहरूमा हजारौँ गीत गाएकी छन्। उनको स्वरमा रहेको चञ्चलता र गम्भीरता दुवैले उनलाई एक अद्वितीय कलाकारका रूपमा स्थापित गरेको थियो।






































