रामेछाप— रामेछापको सदरमुकाम स्थित तामाकोसी नदीमा अब जेटबोटसँगै अब र्याफ्टिङ पनि सञ्चालन हुने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्राको मनोरञ्जन दिन तामाकोसी मरिण एड्भाञ्चार प्रालिले सो परीक्षणका रूपमा सो सेवा सुरु गरेको हो ।

एक वर्ष अघि परीक्षणको रूपमा तामाकोसी जेटबोट सञ्चालन गरेको प्रालिले नयाँ वर्ष २०८३ बाट र्याफ्टिङ पनि परीक्षणको रूपमा सुरु गरेको कम्पनीका सञ्चालक सागरहरि अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार अहिले जेटबोट मन्थलीको करमबाटदेखि मन्थली घाटको पुलसम्म सञ्चालन भइरहेको छ । यसलाई विस्तार गरी करमबोटदेखि खुर्कोटसम्म जेटबोट सञ्चालन गर्ने योजना कम्पनीले बनाएको छ । त्यसको लागि नदीका केही जोखिमपूर्ण ठाउँलाई मिलाउनु पर्ने उनले बताए । यस विषयमा स्थानी तह र पानीजहाज कार्यालयसँग पनि समन्वय र सहकार्य भइरहेको उनले जनाकारी दिए ।

जेटबोटको लागि हाल छोटो, मध्यम र लामो दुरी गरी ३ वटा प्याकेज बनाइएको छ । तीनवटा प्याकेजेको लागि फरक फरक भाडा निर्धारण गरिएको उनले बताए । जसमा ३५०, ५०० र १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको उनले बताए ।

त्यसैगरी र्याफ्टिङको लागि लङरुट र सर्टरुट निर्धारण गरिएको छ । लामो दुरीको यात्रा आधा दिनको हुने छ । सो यात्रा देवीटारदेखि सुरु हुने छ भने २ हजार ५ सय रुपैँया शुल्क लाग्ने छ । छोटो यात्रा हलेदेखि मन्थलीसम्मको हुने छ । जसको शुल्क १ हजार ५ सय लाग्ने छ ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सो कम्पनीले अहिले परीक्षणको रूपमा जेटबोट र र्याफ्टिङ सञ्चालनमा ल्याएको बताउँदै सो परीक्षण सफल भएमा त्यसलाई थप व्यवस्थित बनाएर सञ्चालनको व्यवस्था मिलाउने जानकारी दिए ।