मुगु— मुगुको पूर्वी भेगमा रहेको मुगुम कार्मारोङ गाउँपालिका–८, मह गाउँकी ३० वर्षीया साग्बु लामा सोमबार साँझ जीवनकै सबैभन्दा कठोर परीक्षा भोग्दै थिइन् ।
सदरमुकाम गमगढीबाट आफ्नै घर फर्किँदै गर्दा साँझ अन्दाजी ७ः३० बजे,सोही वडाको च्याप्नेगाड भन्ने ठाउँमा जोखिमपूर्ण भिरालो ढुङ्गाको चट्टान रहेको बाटोमै उनी सुत्केरी भएकि हुन् ।
त्यो अवस्थामा उनी एक्लै आफनो घर जादै थिइन । उनीसँग कोही आफन्त थिएन, न सहयोगका लागि कुनै हात थिए । वरिपरि अँध्यारो, तल गर्जिरहेको कर्णाली नदी र माथि डरलाग्दो ढुङ्गा रहेको भीर मात्रै छ । असह्य पीडाबीच उनले त्यही डरलाग्दो बाटोमै शिशुलाई जन्म दिइन् । नवजात शिशु रगत र माटोले लत्पतिएको अवस्थामा थियो । तर ति कठिन क्षणहरूमा पनि आमाको ममता र साहस कमजोर थिएन ।
आफ्नो ज्यानको पर्वाह नगरी साङमुले मोबाइल फोन मार्फत छायल बजारमा रहेकी आफ्नी एक साथीलाई खबर गरिन् । खबर पाएलगत्तै ती साथीले छायल स्वास्थ्य चौकीकी अनमी विष्णु रोकाया र प्रसुती केन्द्र छायल गाउँकी तिला मल्ललाई जानकारी दिइन् । त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली तत्काल उद्धारका लागि खटियो ।
स्थानीयका अनुसार, प्रहरी र स्वास्थ्य चौकी छायलकी अनमी विष्णु रोकाया प्रस्तुती केन्द्र छायलकी अनमी तिला मल्ल समयमै नपुगेको भए आमा र शिशु दुवैको ज्यान जोखिममा थियो । एक घण्टापछि उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच साङमु र नवजात शिशुलाई सुरक्षित रूपमा प्रसुती केन्द्र पुर्याइयो ।
तर शिशुको अवस्था गम्भीर देखिएपछि तत्काल जिल्ला अस्पताल रिफर गरियो । अस्पताल करिब चार घण्टाको दूरीमा रहेकाले तत्काल यातायातको अभावले थप चुनौती थपियो ।
यही बीच, मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावललाई छायलमा रहेका स्थानीयले फोनमार्फत जिप व्यवस्थापनका लागि आग्रह गरे । अधिकृत रावलको पहलमा जिप व्यवस्था भएपछि प्रहरी र अनमी विष्णु बुढाको टोलीले आमा र शिशुलाई जिल्ला अस्पताल पु¥यायो ।
हाल नवजात शिशुको आइसीयूमा उपचार भइरहेको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी विष्णु रोकायाले जानकारी दिइन् ।
साङमुका पति पेमाराप्के लामाका अनुसार, घरमा सानी छोरीको हेरचाह गर्ने कोही नभएकाले उनी घरमै थिए । साङमु केही दिनदेखि माइतीमा बसिरहेकी थिइन् । ‘उनी घर फर्किँदै गरेको खबर नै थिएन । बाटोमै सुत्केरी भएको खबर पाएपछि म छायल बजार पुगेँ, तर उनलाई अस्पताल लगिसकिएको रहेछ,’ उनले भावुक हुँदै भने । घरमा रहेकी सानी छोरीलाई अरूकै जिम्मा लगाएर उनी हतारिँदै अस्पताल पुगेको बताए ।
उद्धारमा पुगेकी प्रसुती केन्द्र छायलकी इन्चार्ज तिला मल्ल घट्नास्थलमा पुग्दा आमा शरीर भरी पसिना र रक्तश्रापले भिजेको अबस्था थियो । चिसोका कारण शिशु निलो र मुख शरीरभर ढुङ्गा र माटो लतपतिएको अवस्थामा फेला पारेका ईन्र्चाज मल्लले बताइन ।
यो घटना दुर्गम क्षेत्रका गर्भवती महिलाले भोग्नुपरेको पीडा, जोखिम र स्वास्थ्य सेवाको पहुँच अभावको ज्वलन्त उदाहरण बनेको छ । तर, यिनै चुनौतीका बीच एक आमाले देखाएको अदम्य साहस र समयमै खटिएका स्वास्थ्यकर्मी तथा प्रहरीको सक्रियताले आमा र नवजात शिशुको ज्यान बचाउन सफल भएको छ ।






































