दार्चुला— दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्रको नेपाली आकाशमा भारतीय सैनिक हेलिकोप्टरले नेपाल सरकारको अनुमति बिना उडान गरेको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार जेठ २७ गते बिहान भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आईटीबीपी)का प्रमुख शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर छाङरु हुँदै कालापानीतर्फ गएको थियो।
सशस्त्र प्रहरी बलबाट प्राप्त सूचनापछि जिल्ला प्रशासनले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएको जनाएको छ। प्रशासनका अनुसार उक्त हेलिकोप्टरले नेपाली पक्षबाट आवश्यक अनुमति नलिई उडान गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाको विस्तृत विवरण संकलन गरी सोमबार गृह मन्त्रालयमा पठाइने प्रशासनले जनाएको छ।
यसैबीच, नेपाली सेना सीमावर्ती क्षेत्रसहित देशका विभिन्न स्थानमा पूर्वाधार विकासअन्तर्गत सडक निर्माण तथा स्तरोन्नतिको कार्यमा संलग्न रहेको बताइएको छ।






































