बैतडी— बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित कालिका माध्यमिक विद्यालयका एक शिक्षकमाथि कक्षा १० मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। घटना सार्वजनिक भएपछि विद्यालयले आरोपित शिक्षकलाई सेवाबाट बर्खास्त गरेको छ भने प्रहरीले अनुसन्धान अघि बढाएको छ।

पीडित पक्षका अनुसार राहत दरबन्दीमा कार्यरत शिक्षक नरेशबहादुर चन्दले जेठ २२ गते कक्षाकोठामा छात्रा एक्लै रहेको बेला अनुचित व्यवहार गरेका थिए। त्यसपछि छात्राले परिवारलाई जानकारी गराएपछि घटना बाहिरिएको बताइएको छ।

घटनापछि विद्यालय प्रशासन, स्थानीय सरोकारवाला र अन्य पक्षबीच छलफल भएको थियो। छलफलका क्रममा आरोपित शिक्षकमाथि यसअघि पनि यस्तै प्रकृतिका गुनासा उठेको दाबी गरिएको छ।

विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले आरोपित शिक्षकलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएका छन्। यता जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पीडित पक्षले जेठ ३० गते जाहेरी दर्ता गरिसकेको छ र घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ।

प्रहरीले प्रमाण र बयानका आधारमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।